काठमाडौं, १५ पुस । नेपालको संविधान बनेको ४ वर्ष पुगेपछि संविधानमा प्रयुक्त भाषालाई लिएर विवाद उत्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रचलित मानक वर्ण विन्यास अनुसार संविधानको भाषा परिवर्तन गर्नको लागि संघीय संसदलाई पत्र लेख्ने तयारी गरेसँगै संविधानमा प्रयुक्त हिज्जेको बारेमा विवाद सुरु भएको हो ।
अहिले विश्वविद्यालय तथा सरकारी प्रयोगमा रहेको नेपाली भाषाको हिज्जे २०४० सालमा नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको शब्द कोष अनुसारको हो । तर नेपालमा प्रचलनमा भने ४० सालको अनुसारको वर्णविन्यास मात्र पाइन्न । वि.सं. १९९१ पछि प्रचलनमा रहेको वर्णविन्यास पनि रहेको छ । वर्तमान संविधानमा प्रयोग भएका केहि शब्दहरु पनि ४० साल अघिको वर्णविन्यास अनुसार रहेकोले नेपाल प्रज्ञा प्रतिष्ठान यो अशुद्धिलाई सुधार्नको लागि संघीय संसदलाई पत्र लेख्ने तयारीमा लागेको छ ।
तर प्रतिष्ठानको यो तर्कसँग कतिपय भाषाविद्हरुको विमति छ । संविधानमा प्रयुक्त सहिद, कानुन जस्ता शब्द नेपाल प्रज्ञा प्रतिष्ठानको प्रचलित शब्दकोषमा नै भएकाले अशुद्धि भएको भन्ने प्रतिकृया नै गलत भएको धारणा छ ।
प्रज्ञाप्रतिष्ठानले अशुद्ध भनेका शब्द नेपाली भाषामा त्यस्तै प्रयोग हुँदै आइरहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले यस अघि आफ्नै शब्दकोष गलत भएको भन्दै शब्दकोष नै फिर्ता लिने निर्णय गरेको थियो । यस्तै विवादास्पद निर्णयले आफ्नो घटिरहेको साख जोगाउन प्रज्ञा प्रतिष्ठानले यस्ता निर्णय गर्दा बृहत छलफल गर्न आवश्यक छ ।