काठमाडौं, १० पुस । तीन जना कुख्यात अपराधी नेपालमा लुकेर बसेको भन्दै उनीहरूलाई पक्राउ गरिदिन चीनले नेपाल सरकारलाई पत्राचार गरेको छ । रेडकर्नर नोटिसमा सूचीकृत अन्य तीन जनाको पनि खोजी गरिदिन चीनको विदेश मन्त्रालयले नेपालस्थित दूतावासमार्फत सरकारलाई पत्राचार गरेको स्रोतले जनाएको छ ।
‘ईडी ८७८९४६५’ नम्बरको राहदानीवाहक यु अइहाई, ‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउ र ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङलाई पक्राउ गर्न इन्टरपोल चीन र त्यहाँको विदेश मन्त्रालयबाट पत्र आएको हो । फरार रहेकामध्ये युको राहदानी सन् २०१८ सेप्टेम्बर १७ तारिख र जहाङको २०१९ अप्रिल १७ तारिखमा जारी भएको हो । चीन सरकारकै अनुरोधमा नेपालमा बसेका अन्य १ सय २२ चिनियाँलाई गत सोमबार प्रहरीले पक्राउ गरिसकेको छ । चीनमा अपराध गरेर भागेका आफ्ना नागरिकको निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली अहिले काठमाडौंमै छ ।
चिनियाँ दूतावासले पठाएको पत्र परराष्ट्र, गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यसको जानकारी अध्यागमन विभागलाई पनि दिइएको छ । अध्यागमन विभाग स्रोतले उनीहरू कहिले नेपाल आएको भन्ने विवरण दिन चाहेन । रेड नोटिसधारी विदेशी नेपालको अध्यागमन कानुन छलेर कसरी भित्रिए भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।