टीकापुर, ५ पुस । नेपाल प्रहरीको अधीनमा रहेको करिब २५ बिघा ऐलानी जमिन वर्षौंदेखि भारतीय नागरिकले भोगचलन गर्दै आएको पाइएको छ। कैलालीको भजनी नगरपालिका–५ पृथ्वीपुरमा रहेको उक्त जमिन प्रहरीको उपल्लो तहका अधिकारीहरूले भारतीय नागरिक ज्ञानी सरदारलाई आफूखुसी भोगचलन गर्न दिएको खुल्न आएको हो।
धनगढीस्थित नेपाल पुलिस स्कुलको आयस्रोतका नाममा प्रहरी अधिकारीहरूले उक्त जमिन बिनाप्रतिस्पर्धा भारतीय नागरिकलाई ठेक्कामा दिएको स्थानीय बताउँछन्। उक्त जमिनबाट आएको आम्दानी प्रहरीका अधिकारीहरूले व्यक्तिगत रूपमा उपभोग गर्दै आएको स्थानीयको आरोप छ। त्यसरी भारतीय नागरिकलाई जमिन ठेक्का दिनु गैरकानुनी भएको स्थानीयको भनाइ छ। स्था
नीय गणेश बुढाले प्रतिस्पर्धा गरेर नेपाली नागरिकलाई नै जमिन ठेक्कामा दिनुपर्नेमा जोड दिए। उनले नेपाली नागरिकलाई जमिन ठेक्कामा दियो भने बदमासी सार्वजनिक हुने डरले प्रहरी अधिकारीहरूले गुपचुपमा भारतीयलाई दिने गरेको बताए। ‘नत्र प्रतिस्पर्धाका आधारमा जमिन ठेक्कामा दिन प्रहरीलाई किन समस्या ?’ उनले भने, ‘भारतीयलाई दियो भने सबै कुरा गोप्य रहन्छ। त्यही भएर नेपालीलाई ठेक्का नदिइएको हो।’
यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।