काठमाडौं, २ पुस । सडक विभागका महानिर्देशक केशव शर्माले अधिकांश सडक दुर्घटनाहरु मानविय कारणले हुने गरेको बताउनुभएको छ ।
रिपोर्टस क्लबमा भएको साक्षत्कारमा बोल्दै महानिर्देशक शर्माले विश्वव्यापी अध्ययनले पनि सडक दुर्घटनाको पहिलो कारण मानविय त्रुटी नै भएको देखाएको बताउनुभयो ।
सवारी चालक, यात्रु वा पैदल यात्रीका कारणले दुर्घटनाहरु हुने गरेको उहाँको भनाई छ । त्यसैगरि सडकको अवस्था, सडक सुहाउँदो सवारी नहुनु र सवारीको यान्त्रिक कारणले पनि दुर्घटनाहरु हुने गरेको उहाँले बताउनुभयो ।
पछिल्लो समय सडक विभागले विभिन्न राजमार्गहरुमा सडक सुरक्षालाई ध्यानमा राख्दै सडक सुधारका विभिन्न योजनाहरु लागुु गरेको बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले सडक दुर्घटना न्यूनिकरणमा सम्बन्धित निकायको ध्यान जान नसकेको बताउनुभएको छ । सडक बनाउँदा ईञ्जिनियरहरुको अध्ययन बिनानै निर्माण भएका सडकका कारण पनि दुर्घटना बढेको उहाँले बताउनुभयो ।
यातायात सुधारको क्षेत्रमा सरकारको लगानी नै नभएको भन्दै उहाँले चालक उत्पादनका लागि राज्यले लगानी गर्नुपर्ने माग गर्नुभयो । महासचिव सिटौलाले उपत्यकामा मालबाहक सावरी पार्किङको व्यवस्था गर्न पनि माग गर्नुभयो ।
महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले उपत्यकामा दैनिक हुने ¥यालीहरुका कारण ट्राफिक व्यवस्थापनमा असहज हुने गरेको बताउनुभयो । दैनिक १३ लाखको हाराहारीमा सवारी सञ्चालन हुने उपत्यकामा जम्मा १३ सय ६८ ट्राफिक अधिकृत र जवान कार्यरत रहेको उहाँले बताउनुभयो । एउटा ट्राफिक प्रहरीले ९ सय सवारी हेर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।
पछिल्लो समय भएका सडक दुर्घटनाहरुप्रति दुःख व्यक्त गर्दै साक्षत्कारमा सहभागि वक्ताहरुले सडक दुर्घटना सम्बन्धि अध्ययन गर्न समिति गठन गरी समाधानका उपाय पत्ता लगाउनुपर्नेमा जोड दिनुभएको थियो ।





