पोखरा, २९ मंसिर । साविक विजेता पोखरा पल्टनले दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग पीपीएल क्रिकेटमा विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा काठमाडौं गोल्डेनलाई ९ विकेटले पराजित गर्दै पोखराले सुखद सुरुवात गरेको हो ।
काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । पोखराको जितमा ओपनर कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । ४३ बल खेलेका उनले अविजित ६५ रन बनाए । अर्धशतक प्रहार गर्ने क्रममा कुशलले ४ चौका र ३ छक्का प्रहार गर्दै ३४ बलमा ५० रन बनाएका थिए ।
यस्तै पोखराका रबिइन्दर सिंहले अविजित ३८ रन बनाए । आसिफ शेख १४ रनमा आउट भए । काठमाडौंका सुशन भारीले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछन । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेनले बुटवल ब्लास्टर्सको सामना गर्नेछ ।