काठमाडौं, २४ मंसिर । मानव विकास सुचकाङ्कमा नेपाल १ सय ४७ औं स्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ । ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर यूएनडीपीले मंगलबार राजधानीमा सार्वजनिक गरेको मानव विकास सम्बन्धी प्रतिवेदनमा नेपाल १ सय ४७ औं स्थानमा रहेको हो ।
प्रतिवेदनमा दक्षिण एसियामा १० मध्ये ४ मानिसमा सरसफाईको सुविधा नपुगेको र गरिब समुदायमा जलवायु परिवर्तनको जोखिम रहेको उल्लेख गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मानव विकास सुधारका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएर काम गरिरहेको बताउनुभयो । उहाँले ज्ञान र प्रविधिको विकास र पहुँच बढेसँगै मानव विकासको सूचकमा समेत सुधार हुने उल्लेख गर्नु भयो ।
मानव विकास सुचकाङ्कमा नेपालले सन २०१८ का लागि सुन्य दशमलव ५७९ अंक प्राप्त गरेको छ । विश्वमा मानव विकास सूचकाङ्कमा नर्वे सबैभन्दा अगाडी छ । स्वीजरल्याण्ड दोस्रो स्थानमा रहेको छ । सबैभन्दा अन्तिम १ सय ८९ स्थानमा पश्चिम अफ्रिकी मुलुक नाइजर रहेको छ ।