इलाम, १३ मंसिर । इलामको सूर्योदय नगरपालिकामा आयोजना गर्न लागिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ को तयारी अन्तिम चरणमा पुगेको छ । शनिबारदेखि मंसिर १८ गतेसम्म आयोजना गर्न लागिएको पाँच दिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिले जनाएको छ ।
महोत्सव सफल पार्न नगर उपप्रमुख दुर्गादेवी भट्टराईको संयोजकत्वमा गठित ११ सदस्यीय मूल आयोजक समिति तथा मातहतका विभिन्न उपसिमितहरू क्रियाशील छन् । स्वागतद्वार निर्माण, स्टलहरूको निर्माण, होटल व्यवस्थापन, खानेपानीको व्यवस्थापन, प्रचारप्रसार लगायतका काम तीव्ररूपमा भइरहेको छ ।
संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवद्र्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको सूर्योदय नगरपालिकाले जनाएको छ ।
महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्गा्िनक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन् ।