काठमाडौं, ७ मंसिर । सिके राउत नेतृत्वको जनमत पार्टीले राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ । जनमत पार्टीले रंगभेद विरुद्धको एकता दिवसको सन्दर्भमा शनिबार राजधानी काठमाडाैंको प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शक्ति प्रर्दशन गरेको हो ।
प्रत्येक बर्ष मंसिर १० गते मनाउँदै आएको रंगभेद विरुद्धको एकता दिवस उपनिर्वाचनका कारण यस बर्ष ७ गते नै मनाएको हो । सभा सुरु हुनु अगाडी राजधानीका विभिन्न स्थान गौशाला, महाराजगञ्ज, किर्तिपुर लगायतका स्थानबाट झाँकी सहितको र्याली भृकुटीमण्डप पुगी सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर सिके राउतले मधेसी, थारु, आदिवसी जनजातिसंग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले रंगभेद अन्त्य नभएसम्म जनताले परिवर्तनको महसुस गर्न नसक्नुको साथै मुलुकको समुन्नत विकास नहुने बताउनुभयो ।