काठमाडौं, ४ मंसिर । ऐतिहासिक एवं पुरातात्विक सम्पदा वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रको खुला पार्किङ तथा सवारी आवागमन निषेध अभियान काठमाडौँ महानगरपालिकाका लागि फलामको चिउरा जस्तै भएको छ ।
जोखिमपूर्ण पुरातात्विक सम्पदामा सूचीकृत उक्त सम्पदा क्षेत्रमा खुला पार्किङ र सवारी आवागमन हटाउन महानगरपालिकाले गरेको पटक–पटकको प्रयास असफल भएको छ । सम्पदा संरक्षणकर्मी र स्थानीयले सम्पदाभित्रको पार्किङ तथा सवारी आवागमन रोक्न माग गर्दै आएका छन् ।
महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले यो मङ्सिर महिनाको पहिलो हप्ताबाट पार्किङ र आवागमन पूर्णरूपमा निषेध गरिने प्रतिबद्धता व्यक्त गर्नुभए पनि अझै रोकिएको छैन । ‘‘दरबार क्षेत्रमा सवारी निषेधको प्रयास पटक–पटक भएकै हुन्’’ उहाँले थप्नुभयो, ‘‘सफल हुन सकेन ।’’
‘नेपाल पर्यटन वर्ष २०२० नजिकै आइसकेकाले पनि सम्पदाको संरक्षण, संवद्र्धन र सरसफाइ अनिवार्य भएको छ’, प्रवक्ता डङ्गोलले ढुक्क हुन आश्वसन दिँदै थप्नुभयो, ‘‘अब केही दिनमै सवारी निधेष क्षेत्र हुन्छ ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।




