काठमाडौं, २८ कात्तिक । आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ । एक तथ्यांकका अनुसार नेपालको कूल जनसंख्याको ४ प्रतिशत मधुमेह रोगी छन् । त्यसमध्ये पनि निकै कममात्रै चिकित्सकको सम्पर्कमा आउने गरेको चिकित्सकको भनाई छ ।
यसै सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले मधुमेह रोग नियन्त्रणका लागि बिभिन्न जनतेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनु भयो । उहाँले जनचेतनामूलक कार्यक्रम संचालन गर्नका लागि नेपाल मधुमेह समाजलाई २० लाख बजेट हस्तान्तरण गरेको पनि उल्लेख गर्नुभयो ।
मेयर शाक्यले नागरिकहरुलाई रोग लाग्न नदिने खालका सबै कार्यक्रमहरुमा काठमाडौं महानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले नसर्ने रोगको समूहमा पर्ने मधुमेह अर्थात् चिनी रोग नियन्त्रणका लागि सबैले आ आफनो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।