काठमाडौं, २५ कात्तिक । प्रतिनिधिसभा नियमावलीमा सभामुखले बैठकको आरम्भ र अन्त्य गर्ने व्यवस्था छ। नियमावलीको यो प्रावधानले आगामी अधिवेशनको अध्यक्षता उपसभामुखले गर्न पाउने कि नपाउने भन्ने ‘जटिलता’ उत्पन्न हुने देखिन्छ।
सभामुख र उपसभामुख चयन नभएको अवस्थामा ज्येष्ठ सदस्यले भने बैठकको अध्यक्षता गर्ने नियमावलीमा स्पष्ट व्यवस्था छ। यौन दुव्र्यवहारको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि संसद् सचिवालयले नयाँ सभामुख निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने हुन्छ। संसद् बैठकले मात्र सभामुख चयन गर्ने भएकाले उक्त बैठकको अध्यक्षता उपसभामुखले गर्ने कि नगर्ने भन्ने जटिलता देखिन्छ।
प्रतिनिधिसभा नियमावलीमा बैठक सञ्चालन र स्थगनसम्बन्धी व्यवस्था छ। नियमावलीको नियम ६ को उपनियम (४) मा भनिएको छ, ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा गर्नेछ।’ सुवास नेम्बाङ सभामुख बनेदेखि प्रतिनिधिसभाको प्रारम्भ र अन्त्य सभामुखबाट मात्र गर्ने प्रचलन स्थापित छ। सभामुखले प्रारम्भ गरेर लामो समय बैठक चल्ने अवस्था भए बीचमा उपसभामुखलाई अध्यक्षताको (पालो) दिने गरिन्थ्यो। मूल कार्यसूचीलाई निर्णयार्थ पेस गर्नेदेखि स्थगनसम्म सभामुखले नै बैठकको अध्यक्षता गर्ने चलन छ।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।