काठमाडौं, २२ कात्तिक । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ४ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेपछि सत्ता र प्रतिपक्षीसहित सबै क्षेत्रमा विरोध भइरहेको छ ।
यही अवस्थालाई मध्यनजर गरेर सबै मिलेर कसरी अघि बढ्ने भन्ने बिषयमा प्रधानमन्त्रीले छलफल गर्नुहुने जनाइएको छ । यही कात्तिक १७ गते भारतले नयाँ नक्सा सार्वजनिक गर्दै नेपाली भूमिलाई आफ्नो क्षेत्रभित्र पारेको छ ।
बिहीवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा भारतको सार्वभौम भूमि नै रहेको उल्लेख गर्दै नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरेका थिए ।