मेगराज खड्का, २७ भदौ, रुकुम । रुकुमको बाँफिकोट गाउँपालिकाको वडा नम्बर ४ मा पाँच करोडभन्दा बढीको खानेपानी तथा सिँचाइ आयोजना सञ्चालनमा आएको छ । एक घण्टा लामो दूरीबाट गाग्रोमा खानेपानी बोकेर खाने गरेका स्थानीय असम्भव जस्तो लाग्ने गरेको अवस्थामा घरआँगनमै पानी आएपछि दंग परेका छन् ।
बाँफीकोटको कोटगाउँमा वर्षौंदेखिको प्रयासपछि सिँचाई तथा खानेपानी सञ्चालनमा आएको हो । खानेपानी सुविधा पाएसँगै पानीका लागि हरेक दिन घण्टौंसम्म पालो कुर्नुपर्ने समस्या अन्त्य भएको छ । घरआँगनमै पानी पाएपछि बाँफीकोटका दुई सय ५० भन्दा बढी घरधुरी हर्षित भएका छन् ।
सिँचाइ सुविधा उपलब्ध भएपछि मौसमी तथा बेमौसमी तरकारीखेती गर्नसमेत स्थानीयलाई सजिलो भएको छ । खानेपानीको चरम अभाव झेलिरहेका बाँफिकोटबासी जतिखेर पनि नुहाउन, लत्ताकपडा धुन र शौचालयका लागि समेत पर्याप्त पानी प्रयोग गर्न पाएपछि उत्साहित बनेका छन् ।
सिँचाइ सब–भिडिजन कार्यालय रुकुमको साढे ५ करोड रुपैयाँ लागतमा काला खोला दोमई सिँचाइ जलउपभोक्ता समितिले कात्तिकबाट काम सुरु गरेर बाँफीकोट डाँडामा केही दिनअघि पानी पु¥याएको हो । साढे ६ किलोमिटर पाइप विछ्याएर पानी तथा सिँचाइको व्यवस्था मिलाइएको समितिले जनाएको छ ।
पर्याप्त पानी पाएसँगै बाँफीकोटबासीले पानीको पूर्ण सदुपयोग गरी दैनिक जीवनयापन सहज बनाउनुका साथै आयआर्जनका बाटाहरु तय गर्न आवश्यक छ ।