बुढ्यौली उमेरमा पलाएको मातले महरालाई जेल पुर्‍यायो | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

बुढ्यौली उमेरमा पलाएको मातले महरालाई जेल पुर्‍यायो

mahara_pakrau

काठमाडौं, १८ कात्तिक । संसद् सचिवालयमा काम गर्ने एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जेल चलान गरिएको छ ।

असोज १९ गते सरकारी निवास बालुवाटारबाट पक्राउ परेका महरालाई थुनछेक बहसपछि पुर्पक्षका लागि जेल चलान गरिएको हो । सालिन नेताको छवि बनाएका महराको अन्तत राजनैतिक मात्रै नभई सामाजिक छवि एकाएक महलबाट रसातलमा पुगेको छ ।

जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

महराविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीवार दायर गरेको मुद्दामा आइतवारदेखि थुनछेक बहस हुँदै आएको थियो । अदालतको आदेशसँगै महरालाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको हो ।

काठमाडौं जिल्ला अदालतमा शुक्रवार महराको बयान भएको थियो । बयानमा महराले पीडित भनिएकी रोशनी शाहीको डेरा रहेको क्षेत्रमा आफू गएको तर, उनको डेरामा प्रवेश नगरेको बयान दिएका थिए ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले सभामुख पक्राउ परेकै दिन पदबाट राजीनामा दिएका थिए । उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट गत असोज १९ गते पक्राउ गरिएको थियो ।

को हुन महरा ?
नेपाली राजनीतिमा कृष्णबहादुर महराको पहिचान सबैलाई मिलाउन सक्ने, मिलनसार र भद्र नेताको रुपमा स्थापित थियो । संवादमार्फत आफ्ना कुरा राख्न सक्ने र अन्य दललाई पनि सर्वमान्य व्यक्ति भएकाले महरा सरकारसँग वार्ता गर्न तत्कालीन विद्रोही नेकपा माओवादीकोतर्फबाट वार्ता टोलीको संयोजक बने ।

महरा संयोजक रहेको वार्ता टोलीले तल्कालिन सरकारसँग वार्ता गरेर सहमति जुटायो । त्यतिबेला चर्चा भयो, महरा र कृष्ण सिटौला जस्ता कुशल व्यक्तिका कारण शान्ति प्रक्रियाका जटिल कुरा पनि सहज भए । महराकै नेतृत्वमा २०६३ माघ १ गते तत्कालीन नेकपा माओवादी अन्तरिम व्यवस्थापिका संसदमा प्रवेश गरेको थियो ।

भर्खर शान्ति प्रक्रियामा आएको माओवादीका कतिपय सांसदले संसदभित्र जाँदा हतियार लैजान हुँदैन भन्नेसम्मको ख्याल राखेनन् । अन्तरिम व्यवस्थापिकाको रुपमा रुपान्तरित संसदमा लोकेन्द्र बिष्टले हतियार लिएर गएपछि विवाद बढ्यो ।

साथै संसदमा अवरोधको स्थिति समेत सिर्जना भयो । त्यो बेला महराले कुशलतापूर्वक समाधान निकाले । यस्ता कैयौ घटनाहरु महराले मिलाउने कोसिस गरे ।

शान्ति प्रक्रियामा कुशल भूमिका खेलेवापत महराले सधैभरि पुरस्कार मात्रै पाइराखे । सभामुख पद पनि त्यसैको ब्याज भएको चर्चा चारैतिर चलिर¥यो । माओवादी शान्ति प्रक्रियामा आएपछिका १३ वर्षमा अधिकांश समय सत्ताको केन्द्रकै वरिपरि रहे महरा ।

अध्यक्ष प्रचण्डको प्रिय पात्र भएको कारण माओवादी टुक्राटुक्रा हुँदा पनि उनी सत्ताको लाभ लिन कहिल्यै चुकेनन् । माओवादीमा उनी मात्र मन्त्री बन्ने र अवसर एकै व्यक्तिले लिएको भन्दै आलोचना गर्नेहरुले उनलाई ‘माओवादी भित्रका गच्छदार’को संज्ञा समेत दिए ।

२०४८ सालमा पहिलो पटक प्रतिनिधि सभाको सदस्य बनेका महराले २०६३ यताको १३ वर्षको अवधीमा पटक–पटक सञ्चार मन्त्रालय, गृह, परराष्ट्र र अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्ने अवसर पाइरहे ।

माओवादीले सशस्त्र जनयुद्ध शुरू गर्नुअघि समेत संसदमा गएको र संसदीय लोकतन्त्रमा अभ्यस्त भएको भन्दै महरालाई सभामुखको जिम्मेवारी दिइयो । तर महरा संसदमा मात्रै अभ्यस्त देखिएन् उनको अन्य गोप्य पाटो खुलेपछि भने जीवनमै ठूलो धक्का लाग्यो ।

बाहिरी दुनियाँमा महरा समकालीन नेतामध्ये सालीन र भद्र स्वभावका व्यक्ति मानिँदै आए पनि त्यो त सायद भद्रताको औपचारिकता मात्रै थियो ।

जनताको सार्वभौम निकाय संसदको सभामुख जस्तो गरिमामय पदमा रहेका महराले बलात्कार आरोपमा राजीनामा दिनुपर्ने स्थिति आइलाग्यो । बुढ्यौली उमेरमा पलाएको मातले महरालाई राजनीतिक उचाईको उच्च शिखरबाट रसातलमा पुरायो । बाहिरी स्वभाव भद्र भएपनि नशाले मानिसलाई कति बिगार्छ र कहाँ पुराउँछ भन्ने उदाहरण बनेका छन् महरा ।

माओवादी शान्ति प्रक्रियामा आइसकेपछिका केही प्रकरणमा महराको नाम जोडियो । शिविरमा बसेका माओवादी लडाकूको नाममा दिइएको रकमका दुरुपयोग भएको भन्दै माओवादीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्याे । लडाकू शिविरमा भएको भनिएको घोटालामा पनि महराको नाम मुछियो ।

प्रधानसेनापति प्रकरणलाई लिएर पुष्पकममल दाहालले राजीनामा दिएको केही समयमै माओवादीले फेरि सरकार गठनको पहल गर्यो । त्यसक्रममा माओवादीले मधेश केन्द्रीत दलका सांसदको सहयोग लिन खोजेको थियो । सांसदलाई आर्थिक प्रलोभनमा पार्न चिनियाँ व्यापारीसँग महराले कुराकानी गरेको अडियो सार्वजनिक भयो ।

लडाकू शिविरमा घोटाला, चिनियाँ व्यापारीसँगको विवादास्पद कुराकानीले महराको सत्तारोहण रोकिएन, बरु फलिफाप नै भयो । कुनै बेला चीन परस्तको आरोप लागेका महरा केही समयमै फेरि भारतसँग निकट देखिए ।

‘चीन र भारतको सन्तुलन मिलाउन सकेकै कारण महरा सधैभरि शक्तिमा रहन सफल भए । राजनीतिमा चतुर खेलाडी महरा यसपटक भने आफैं चिप्लिए, सायद भविष्यमा उठ्न नसक्ने गरी । उनीमाथि लागेको बलात्कार जस्तो गम्भीर आरोपका कारण महराले राजनीतिक पुनर्जीवन पाउने सम्भावना ज्यादै क्षीण छ ।

२०७३ सालमा केपी ओली सरकार गिराउनमा महराको भूमिका रहेको पूर्व एमालेका नेताहरू सम्झिन्छन् । ओली सरकार विस्थापित गरेर बनेको प्रचण्ड नेतृत्वको सरकारमा महरा अर्थमन्त्री बनेका थिए । त्यहीँ कार्यकालमा महराले आर्थिक रुपमा पनि आफूलाई ‘उत्थान’ गरेका थिए ।

भारत र चीनलाई सन्तुलन मिलाउन सफल भएकै कारण प्रचण्डपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री बने । महरामाथि कहिले दिल्लीको त कहिले बेइजिङको भरिया बनेको आरोप लाग्यो तर पनि उनले सन्तुलन मिलाए ।

सभामुखका रुपमा भने महराको भूमिकालाई लिएर न सरकार सन्तुष्ट थियो, न प्रतिपक्ष । प्रतिपक्षप्रति बढी उदार भएको सत्तारुढ दलको आरोप थियो भने सत्ताको लाचार छायाँ भएको कांग्रेसको आरोप थियो ।

केही संसदीय मूल्य, मान्यता र परम्परालाई महराले कुल्चेका थिए । सदनमा प्रतिपक्ष उभिएको समयमा विधेयक पारित गरेर महराले विगतमा कांग्रेसले गरेको गलत परम्परालाई निरन्तरता दिएका थिए । सभामुखको कार्यशैलीप्रति विमति जनाउँदै कांग्रेसले सदनको बैठक समेत बहिष्कार गरेको थियो ।

माओवादी पृष्ठभूमिका नेताहरू महरालाई ‘महरा सर’ शब्दले सम्बोधन गर्छन् । पूर्णकालीन राजनीतिमा होमिनुपूर्व माओवादी उद्गम थलो रोल्पामा महराले लामो समय हेड सरका रुपमा शिक्षण पेशा अँगालेका थिए ।

२०१५ असार १५ गते रोल्पाको लिवाङमा जन्मिएका महरा २०३५ सालदेखि राजनीतिमा लागेका थिए । महराका धेरै विद्यार्थी सांसद, मन्त्रीदेखि राजनीतिक उच्च ओहोदामा पुगिसकेका छन् । उनीहरू अहिले पनि महरालाई सर भनेरै सम्बोधन गर्छन् । माओवादीमा अन्य नेताले कमरेड भनेर सम्बोधन पाएपनि महरा भने सभामुख बन्दा समेत सर नै थिए ।

उनकै पूर्व विद्यार्थी र एक कर्मचारीमाथि गरिएको व्यवहारका कारण महराको राजनीतिक उचाइ र त्यो शाख शून्यमा झरेको छ । ती महिलाको मोबाइलमा समेत महराको नम्बर ‘एम सर’बाट सेभ गरिएको भिडियो बाहिरीएको थियो ।

घटनाको समाचार सार्वजनिक भएको लगभग २० घण्टाको अन्तरालमा विकसित भएको राजनीतिक उचारचढावपछि महराले राजीनामा दिनुपरेको थियो । नेकपा सचिवालय बैठकमा प्रस्तुत विवरणबाट महरा आइतवार राति ती महिलाको डेरामा गएको पुष्टि भयो । महराले राजनीतिक आचरण, सामाजिक मर्यादा कायम राख्न नसकेको नेकपाको ठहर थियो ।

करिअर रसातलमा

२०३५ सालमा विद्यार्थी मोर्चाबाट राजनीति शुरू गरेका महराको राजनीतिक करिअर ३६ वर्षपछि रसातलमा पुगेको छ । देशका १ जना चतुर राजनीतिक खेलाडी महराको राजनीति अवशान भएको छ ।

महरामाथि लागेको आरोप गम्भीर प्रकारको भएकाले उनले सफाइ पाउने सम्भावना न्यून छ । कानूनी रुपमा उनले सफाइ पाउलान या नपाउलान त्यो भविष्यले बताउने छ ।

तर उनको राजनीतिक भविष्यमाथि यो घटना सदैव कालो धब्बाको रुपमा रहिरहने छ । महरा सरको यो पाठ राजनीतिक आन्दोलनमा लागेर ‘सांस्कृतिक विचलन’मा डुबेका सबै नेताका लागि गतिलो शिक्षा हुन सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);