विद्यार्थीलाई नौ घण्टा बन्धक बनाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

विद्यार्थीलाई नौ घण्टा बन्धक बनाइयो

national medical collage

काठमाडौं, १७ कात्तिक । नेसनल मेडिकल कलेज वीरगञ्जका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले अवैध शुल्क असुलेको विरोधमा बोल्ने विद्यार्थीलाई नौ घण्टा बन्धक बनाएको खुल्न आएको छ। अन्सारीले आफूहरूमाथि यातना दिएको नेसनल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुको आरोप छ।

पीडित विद्यार्थीले कलेज प्रशासनले आफूहरूमाथि गरेको दुव्र्यवहारको विषयमा किटानी जाहेरी दिँदा पनि प्रहरी र जिल्ला प्रशासनले वास्ता नगरेको ती विद्यार्थीहरु बताउँछन्। चिकित्सा शिक्षा संघर्ष समितिका सदस्य अनित सिन्हाका अनुसार अन्सारीले कलेजको ज्यादतीको विरुद्धमा आन्दोलनमा उत्रिएका विद्यार्थीलाई कलेज परिसरमा रहेको बाटो आफूहरूको निजी भएको र त्यो बाटोमा आन्दोलन गरे लखेट्ने धम्की दिएका थिए।

‘अन्सारीले कलेजअघि रहेको उक्त बाटो कलेजले किनेको निजी भएकाले सार्वजनिक स्थानमा गएर मात्र प्रदर्शन गर्न र उक्त ठाउँमा आन्दोलन गरे ठिक पार्ने धम्की दिए,’ सिन्हाले भने, ‘अन्सारीको धम्कीपछि विद्यार्थीले आफ्नो हकहित र कलेज प्रशासनको अत्यचारविरुद्ध वीरगञ्जको घण्टाघरमा गएर विरोध गर्ने कार्यक्रम तय भएको थियो। तर विद्यार्थी घण्टाघरमा गएर आन्दोलन गर्ने सुइँको पाएपछि अन्सारीले विद्यार्थीलाई करिब ९ घण्टासम्म कलेजभित्र नै बन्धक बनाए।’

कसरी बनाए बन्धक ?
पीडित विद्यार्थीहरुको भनाइअनुसार कात्तिक १० गते दिउँसो १ बजे वीरगञ्ज घण्टाघर अगाडि सरकारले तोकेको भन्दा चर्को शुल्क लिएको विरोधमा प्रदर्शन गर्ने तयारी थियो। त्यसको सूचना विद्यार्थीले प्रहरीलाई पनि दिएका थिए।

कलेज प्रशासनले बिहान ११ बजेदेखि नै सुरक्षा गार्डको पोसाक लगाएर कलेज र होस्टल वरिपरि बाक्लो संख्यामा गुण्डाहरु खटाइएको थियो। १ बजेपछि अन्सारीको निर्देशनमा ती गुण्डाले १८ ब्याजका स्नातक तह प्रथम वर्षमा अध्ययनरत करिब एक सय विद्यार्थीलाई होस्टलबाट बाहिर निस्किए जे पनि हुन सक्ने भन्दै धम्की दिए।

उनीहरूले होस्टलभित्रै पसेर विद्यार्थीमाथि यातनासमेत दिन थाले। पीडित विद्यार्थीले आफूहरूलाई बन्धक बनाएर यातना दिएको विषयमा प्रहरी र जिल्ला प्रशासनलाई खबर गरे पनि प्रहरीले कलेजभित्र छिर्ने अनुमति आफूहरूलाई नभएको भन्दै विद्यार्थीको कुरा सुनेन।

अघिल्लो दिन कलेज परिसरमा छिर्न नमिल्ने भनेर विद्यार्थीको उजुरीको बेवास्ता गर्ने प्रहरी भोलिपल्ट भने कलजेभित्र पसेको पीडित विद्यार्थीको गुनासो छ। होस्टलभित्र नै बन्धक बनाइएको विद्यार्थीलाई बेलुका आठ बजेपछि मात्र बाहिर निस्कन दिइएको थियो। जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख नरायणप्रसाद भट्टराई भने घटना भएको जानकारी पाएलगत्तै आफूहरूले प्रहरी परिचालन गरेको बताउँछन्।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार सिनियर विद्यार्थीले नै जुनियर विद्यार्थीमाथि दुव्र्यवहार गरेकाले अबदेखि त्यस्तो घटना हुन नदिने प्रतिबद्धता कलेज प्रशासनले जनाएको छ। घटनाको विषयमा थप छानबिन भइरहेकाले यसको विषयमा सत्यतथ्य पत्ता लगाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए। विद्यार्थीलाई बन्धक बनाएको विषयमा कलेजका प्रबन्ध निर्देशक अन्सारीसँग नागरिकले सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

बढी शुल्क फिर्ता गर्न माग
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख बढी असुलिरहेको छ। सरकारले काठमाडौं उपत्यकाबाहिर ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।

सो निर्णयलाई उल्लंघन गर्दै नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले विद्यार्थीसँग ५६ लाखसम्म लिँदै आएको विद्यार्थीहरु बताउँछन्। सरकारले तोकेको भन्दा चौध लाख बढी शुल्क असुलेपछि उक्त पैसा फिर्ता गर्न विद्यार्थीहरुले आन्दोलन थालेका थिए। त्यही आन्दोलनमा सहभागी भएको भन्र्दै कलेज प्रशासनले विद्यार्थीलाई बन्धक बनाएको हो। यो समाचार आजको नागरिक दैनिक पत्रिकामा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);