काठमाडौं, १६ कात्तिक । श्रम समझदारी कार्यान्वयनका विषयमा नेपाल र संयक्त अरब इमिरेट्स युएइबीच आइतबार दुईदेशीय संयुक्त छलफल हुँदैछ । श्रम तथा रोजगार मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह जेडब्लुसीको पहिलो बैठक बस्न लागेको हो ।
बैठकमा दुई देशबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयन, कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी विषयमा छलफल हुने छ । २ दिनसम्म चल्ने बैठकमा श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिइने छ ।
बैठकले प्राविधिक विषय टुंगो लगाएपछि नयाँ श्रम समझदारीका प्रावधानअनुसार नेपाली श्रमिकले सेवा सुविधा प्राप्त गर्नेछन् । बैठकको नेपालकालागि श्रम मन्त्रालयका सहसचिव डाक्टर रामप्रसाद घिमिरे र युएईका लागि मानव संशाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखाका निर्देशक अब्दुल्लाह अल नुवाइमीले नेतृत्व गर्नेछन् ।
बैदेशिक रोजगारीका लागि युएई नेपालको चौथो प्रमुख गन्तव्य मुलुक हो । अहिले पनि बार्षिक ५० हजार भन्दा बढि श्रमिक रोजगारीका लागि युएई पुग्ने गरेका छन् ।