काठमाडौं, १४ कात्तिक । गाउँकै स्कुलबाट १२ कक्षा सकेपछि उनी थप अध्ययनका लागि ५ महिनाअघि काठमाडौं आइन् । दिदीबहिनी मिलेर राम्रो क्याम्पस खोज्दै थिए । समय खाली थियो, जतिसक्दो धेरै उपयोगी बनाउन चाहन्थे, त्यसैले उनीहरू हप्तैपिच्छे हाइकिङ जान्थे । त्यही क्रममा गत असार पहिलो साता इन्द्रहाङ राईसँग उनको चिनजान भयो ।
दिदीको सँगै पढ्ने साथी भएकाले उनी दाइ भनेरै सम्बोधन गर्थिन् । सम्बन्ध दाजुबहिनीकै जस्तै चुलिएको थियो । ‘अहिले पनि उसैले बहिनीलाई यो हिंसा गर्यो भनेर विश्वास गर्नै कठिन भइरहेको छ,’ उनकी दिदीले भनिन् ।
भाइटीकाको अघिल्लो दिन उनी कोठामा एक्लै थिइन् । अप्ठ्यारो–सप्ठ्यारोमा भरथेग गर्ने राईलाई यो थाहा नहुने कुरै भएन । इन्द्रहाङ विद्यार्थी नेता पनि हुन् । कसैको समस्यामा उनी सहयोग गर्न अघि सर्थे । अझ राईसँग ‘बहिनीले काठमाडौंमा दिक्क मान्न सक्छे, सरसहयोग गरिदिनू’ भनेर दिदी काठमाडौं बाहिर गएकी थिइन् । दिउँसो उनलाई राईले फोन गरे । ‘३ बजे देउसीभैलो सुरु हुन्छ, खेल्न आउनू’ भने । उनी जोरपाटीसम्म गाडी चढेर गइन् । राई उनलाई लिन त्यहीँ पुगे । मोटरसाइकलमा हालेर माकलबारीमा रहेको एउटा घरमा पुर्याए, जहाँ उनका आफन्त डेरा गरेर बस्छन् ।
त्यस दिन राईका आफन्त अन्तै गएका थिए । राईले पहिले नै बियर र केही खानेकुरा लगेर त्यहाँ राखिसकेका रहेछन् । राईले केहीबेरपछि देउसी सुरु हुने भन्दै खानेकुरा खान उनलाई आग्रह गरे । माहौल ठीकठाक थियो, ठूलो कुरा त विश्वास नै थियो । तर जब राई उनीमाथि जाइलाग्न थाले विश्वासको पहाड ढल्यो । ‘सुरुमा उसले हग गरौँ भन्यो, मैले मानिनँ त्यसपछि जबर्जस्ती गर्यो,’ उनी सम्झिन्छिन् । यो समाचार आजको
कान्तिपुर दैनिकमा लेखेको छ ।