एजेन्सी, ८ कात्तिक । एक सातादेखि विरोध प्रदर्शन भइरहेको चिलीको राजधानी स्यान्टियागोमा त्यहाँको अवस्था अनुगमन गर्नका लागि संयुक्त राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली पठाउने भएको छ ।
१८ जनाको ज्यान गएको दाबी गरिएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक भएका दंगाको अनुगमन गरेर अवस्थाको अध्ययन गर्न राष्ट्रसंघले मानवअधिकार विज्ञहरूको एउटा टोली चिली पठाउन लागेको हो ।
राजधानी स्यान्टीयागोसहित चिलीका थुप्रै सहरमा गत शुक्रवारदेखि असमानता र मुल्यवृद्धिविरुद्ध विरोध प्रदर्शनहरू भइरहेका छन् । संयुक्त राष्ट्रसंघकी मानव अधिकार प्रमुख तथा चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासलेटले उक्त टोलीले मानवअधिकार हनन सम्बन्धी आरोपहरूको परीक्षण गर्ने बताइन । हिंसात्मक प्रदर्शनहरू चर्किएपछि लगाउन सुरु गरेको रात्रीकालीन सैन्य कर्फ्यु अझै जारी छ ।
चिलीमा मेट्रोरेलको भाडा बढाएपछि उठेको आक्रोश अहिले सामाजिक र आर्थिक असमानताका मुद्दा समेत उठाएर आमहड्तालमा परिणत भएको छ । राष्ट्रपति सेबास्चियन पिनेराले आक्रोश शान्त पार्न सामाजिक सुधारहरू गर्ने घोषणा गरे पनि विरोध प्रदर्शन रोकीएको छैन ।