बिभिन्न आरोपमा धमाधम सांसद पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बिभिन्न आरोपमा धमाधम सांसद पक्राउ

काठमाडौं, ३० असोज । पछिल्लो समय सभामुखदेखि सांसदहरु विभिन्न अभियोगमा प्रकाउ परेका छन् । पछिल्लो केहि दिनमा मात्र सभामुख जस्तो गरिमामय पदमा बसेका व्यक्ति नै बलात्कारको आरोप लागेर पदमुक्त हुनुपरेको छ ।

महरा बाहेक नै अन्य पांच सांसद कोहीलाई भ्रष्टाचारको अभियोग लागेको छ भने, कोहीलाई हत्या तथा गुण्डागर्दीको आरोपमा प्रहरी अनुसन्धानको घेरामा तानिएका छन् । सत्ता र शक्तिको दुरुपयोग बढेको हुनाले यस्ता घटना बढ्दै गएको विश्लेषक तथा आमसर्वसाधारणको बुझाई छ ।

सभामुख कृष्णबहादुर महरा

संसद अधिवेशन स्थगित भएको समयमा सांसदहरु विभिन्न अभियोगमा प्रहरी फन्दामा पुगेका छन् । सांसद मात्र होइन व्यवस्थापिकाको प्रमुख पद सम्हालेका सभामुख समेत अहिले प्रहरी हिरासतमा पुगेका छन् । गएको ११ दिनमा मात्र ३ जना सांसद प्रहरी हिरासतमा पुगेका छन् भने १ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ ।

संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई यौन दुराचार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराको पद मात्र गुमेन प्रहरीको हिरासतमा नै जानु परेको छ ।

कांग्रेस सांसद मोहम्मद अफताब आलम
१२ वर्ष अगाडी रौतहटमा भएको घटनामा दोषी भएको आरोपमा कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई प्रहरीले असोज २६ गते प्रकाउ गरेको छ । १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप आलम माथि लागेको छ ।

राजपा सांसद प्रमोदकुमार साह
जनकपुर विमानस्थलमा बुद्ध एअरको कार्यालय तोडफोड गरेको अभियोगमा गत मंगलबार प्रकाउ परेका राजपा सांसद प्रमोद कुमार साह अहिले प्रहरी हिरासतमै छन् ।

राजपा सांसद रेशम चौधरी
कैलाली क्षेत्र नं १ बाट निर्वाचित सांसद रेशम चौधरी प्रहरी अधिकृत र सर्वसाधारण सहित ८ जनाको हत्या अभियोगमा अहिले जेलमा छन् ।

हरिनारायण रौनियार, सांसद, समाजवादी पार्टी
पप्पु कन्स्ट्रक्सनका मुख्य ठेकेदार भनि चिनिएका सांसद हरिनारायण रौनियार करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा निलम्बनमा परेका छन् ।

नेकपा सांसद पार्वत गुरुङ
दोलखाबाट निर्वाचित नेकपाका सांसद पार्वत गुरुङलाई अदालतले पक्राउ पूर्जी जारी गरेको छ । अदालतले गुरुङलाई ३५ दिन भित्र अदालतमा हाजिर हुन भन्दै पक्राउ पुर्जि जारी गरेको हो । गुरुङ माथि ज्यान मार्ने उद्योग गरेको आरोप छ ।

यसरी नीति निर्माण गर्ने तहमा बसेका सांसदहरु माथि नै जघन्य अपराध देखिने विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लागेको छ ।

राजनीतिज्ञहरुले पद र शक्तिको चरम दुरुपयोग गरेको हुनाले यस्तो अवस्था आएको अहिले विश्लेषण गरीएको छ ।

सरकार मुलुकमा भ्रष्टाचार शून्य बनाउने र अपराधिक गतिविधिलाई शून्य बनाउने भनेर लागिरहेको बेला सांसदहरु नै एकपछि अर्काे जघन्य अपराधजन्य गतिविधिमा मुछिएका छन् । धमाधम पक्राउ पर्न थालेका छन् ।

तत्काल भएका यी घटनालाई हेर्ने हो भने नेपाली राजनीतिमा रहेको अपराधिक मानसिकता र बेथितीलाई उजागर गरेको छ । सांसदहरु माथि आपराधिक घटनामा संलग्न भएको आरोप लागिरहँदा अहिले सम्बन्धीत दलहरु र दलका मुख्य नेताहरु मौन देखिन्छन् ।

मौन रहनुको कारण दुई अर्थबाट बुझ्न सकिन्छ । एक, घटनाक्रमले दलका नेताहरुलाई लज्जित बनाएको छ त्यसकारण बोल्न सकिरहेका छैनन् ।

अर्र्काे, उजुरीपछिको पक्राउलाई नरोकिएकोले दल र सरकार कानूनी राज्यको पालनामा सघाइरहेका छन् भनेर बुझ्न सकिन्छ । सांसदका व्यक्तिगत घटनाले, सिंगो व्यवस्था र राजनीतिक संस्कारमाथि नै धक्का दिन सक्ने भएकोले आगामी दिनमा कस्ता व्यक्तिलाई राजनीतिमा प्रवेश गराउने र कस्ता व्यक्तिलाई सांसद बनाउने भन्नेमा राजनीतिक दलहरुले बेलैमा सोच्नु पर्ने आवश्यकता देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);