टिका खतिवडा
इलाम, ३० असोज । पछिल्लो समय किवी माग र यसको व्यवसायिक खेती गर्ने प्रचलन बढ्दै गएको छ । स्वास्थ्यका लागि निकै लाभदायी फलका रुपमा मानिने किवीको बजार माग पनि प्रशस्त छ । पूर्वी क्षेत्रको इलाममा पनि किवीको उत्पादन र बजार मूल्य राम्रो बन्दै गएको छ । तर कृषकहरुमा आवश्यक ज्ञानको कमीले काँचै किवी टिपेर बजारमा पुर्याउने गरेका छन् । यसरी काँचै किवी बजारमा निकालेपछि इलामको किवीले ठुला बजारमा मूल्य नपाउने भन्दै सरोकारवालाहरु चिन्तित भएका छन् ।
विभिन्न रोग निवारणका लागि उपयोगी मानिएको किवीको अहिले बजारमा माग बढ्दै गईरहेको छ । इलामका कृषकहरुले पनि बजारमा राम्रो मूल्य पाउनका लागि किवी टिपेर बजारमा ल्याईसकेका छन् । इलामका किसानहरुले काँचै किवी बजारमा निकालेका छन् । तर ती किवीहरु राम्ररी पाकेको छैन । काँचो किवी खाँदा कोक्याउने अमिलो हुने, धेरै समय भण्डारण गर्दा चाउरिने तर मिठास नहुने अग्रज कृषकहरुको भनाई छ । कृषक तथा व्यवसायीहरुमा आवश्यक ज्ञानको अभावमा यसरी काँचै किवी बजारमा ल्याइएको हुन सक्ने एक किवी कृषकको भनाई छ ।
परिपक्व नभएको फल खानका लागि हानिकारक हुने र यसले किवी फल प्रति उपभोक्ताको आकर्षण घट्ने देखिन्छ । काँचो किवी विक्रि वितरण हुँदा यसले दिगो बजारमा असर गर्ने विज्ञहरुको भनाई छ । समय अगावै किवी टिपेर बजारमा आउन थालेपछि किवी जोन परियोजना र इलाम उद्योग बाणिज्य संघले सचेतना अभियान शुरु गरेको छ ।
इलाम, पाँचथर र ताप्लेजुङका केही किसानले जानकारी अभावमा समय अगावै किवी बजारमा ल्याएका छन् । इलाममा रातो किवीका अलावा ब्रुनो, अलिसन, हेवार्ड जातका किवी लगाएको पाइन्छ । हवार्ड जातको किवी अन्य जातको भन्दा उच्च गुणस्तरको मानिन्छ । इलाममा किवी जोन परियोजना सचांलन भएपछि गुणस्तर सुधार र बजारीकरणका काम हुँदै आएको छ ।