तारको भार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

तारको भार

taar

काठमाडौं, ३० असोज । एउटै पोलमा बिजुली, इन्टरनेट, टेलिफोन र केबल टीभीको तार । भार थेग्न नसकेर पोल नै ढल्ने अवस्था । र, ढलेका पनि धेरै छन्। लठिभद्र ती तारले सहरको सौन्दर्य बिगार्नुका साथै विभिन्न दुर्घटनासमेत निम्तिने नेपाल विद्युत् प्राधिकरण बानेश्वर वितरण प्रमुख बाबुराम सुवेदीले बताए।

इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले आफूखुसी पोलमा तार झुन्ड्याउँदै आएका छन्। ‘काम नलाग्ने तार व्यवस्थापन मात्रै गर्ने हो भने पनि पोलको भार कम हुने थियो’, उनले भने, ‘त्यसतर्फ कुनै निकायको ध्यान पुगेको छैन।’ काम लाग्ने र नलाग्ने तारको गुजुल्टा एउटै हुँदा समस्या आएको उनी बताउँछन्। काम नलाग्ने तार इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरले व्यवस्थापन नगर्दा कुरुप देखिएको सुवेदीको भनाइ छ।

सेवाप्रदायकले जथाभावी तार राख्नाले पनि यस्तो समस्या आएको हो। नेपाल इन्टरनेट सेवाप्रदायक संस्था (आइसपान) का कोषाध्यक्ष पुष्करसिंह बडालका अनुसार बिजुलीको पोलमा इन्टरनेट सेवाप्रदायकको २० प्रतिशत मात्र तार रहेको बताउँछन्। घर–घरमा इन्टरनेट पुर्‍याउन पोलको विकल्प नभएको उनी बताउँछन्।

तार व्यवस्थापन गर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले अव्यवस्थित तार व्यवस्थापन गर्न इन्टरनेट सेवाप्रदायक तथा केबल अपरेटरलाई निर्देशन दिएको छ। अव्यस्थित, असुरक्षित तथा सहरलाई कुरुप बनाउने गरी जडान भएका तारलाई दसैंअगावै व्यवस्थापन गर्न निर्देशन जारी गरेको थियो। तर, तार व्यवस्थापनको काम भने गरिएको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले तार व्यवस्थापनको काम भइरहेको बताए। ‘अव्यवस्थित तार व्यवस्थापन र हटाउन निर्देशन जारी गरेका छौं’, उनले भने, ‘केही मात्रामा भइसकेको र केही हुने क्रममा छ।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);