चिनबाट नेपालले धेरै सिक्नुपर्छ : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

चिनबाट नेपालले धेरै सिक्नुपर्छ : मन्त्री पोखरेल

काठमाडौं, २७ असोज । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको छ ।

सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले चिनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताउनुभएको हो ।

नेपालका कम्युनिष्टहरुले जनतासंग गरेको प्रतिवद्धता अनुसार अगाडि बढ्ने अठोट गरेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्युनिष्टहरुकै पथमा नभई नेपालको विशेषता अनुसार पृथक ढंगले अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गर्नुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू परिवेष्ठितबाट भूजडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उहाँले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उहाँले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताउनुभयो ।

भ्रमण हुनु पुर्व कतिपयले चिन सरकारसंग के के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उहाँले नेपाल सरकार छिमेकी मुलुकसंगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के के सपिङ लिस्ट छ ? भनि जिज्ञाशा राखे । हामीले त्यसबेला भनेका थियौ हामी सपिङ लिस्ट लिएर बसेका छैनौ । हामीले परिवर्तित सन्र्दभमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौ । त्यस हिसाबले भ्रमणले दुईदेशबीचको मित्रताले उचाई प्राप्त गरेको छ । यो मित्रतालाई हामी धेरै पर पुर्याउन चाहन्छौ ।”

उहाँले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिवद्धतालाई दृढतापुर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

ताजा समाचार