काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी का नेताहरुबीच भेटवार्ता भएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा होटल सोल्टीमा पुगेका नेकपाका नेताहरुको टोलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा सीले नेपालले जुन राजनीतिक उपलब्धी र स्थायित्व हासिल गरेको छ र विकासको बाटोमा हिँड्न खोजेको छ त्यसका लागि बधाई दिएका छन् । सीले चीन सधैं नेपालको साथमा रहने पनि विश्वास उक्त भेटवार्तामा जनाएको नेकपाका नेताहरुले बताएका छन् । सीले दुई देशबीचको सम्बन्ध राम्रो रहेको सुनाउँदै यसलाई अझ सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभएको बताइएको छ ।