सीद्वारा रेल र सुरुङ मार्गमा सहयोग गर्ने प्रतिवद्धता, सम्झौतामा आज हस्ताक्षर हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

सीद्वारा रेल र सुरुङ मार्गमा सहयोग गर्ने प्रतिवद्धता, सम्झौतामा आज हस्ताक्षर हुने

xi n bidhya vet

काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको रात्रिभोजमा दुवै देशका राष्ट्रपतिले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा दुवै राष्ट्रपतिले दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई व्याख्या गर्नुका साथै रेलमार्गमा जोड दिनुभएको थियो । सम्बोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली जनताको चाहना छिट्टै पूरा हुने आशासमेत व्यक्त गर्नुभयो । उहाँले नेपालमा चिनियाँ लगानीका लागिसमेत आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले एक चीन नीतिप्रति नेपालको प्रतिवद्धतासमेत दोहोराउनु भएको छ ।

उक्त रात्रीभोजमा बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्र बन्ने सपना साकार पार्न सहयोग गर्ने बताउनुभएको छ । राष्ट्रपति सीले नेपाल–चीन सीमापार रेलमा मार्गको सम्भाव्यता अध्ययनका लागि सहयोग गर्ने बताउनुभयो । सीमापार रेल मार्गको सम्भाव्यता अध्ययन गर्ने र काठमाडौंसम्मको सुरुङ मार्गलाई अघि बढाउन चीन सक्रिय हुने सीको भनाइ थियो ।

जलवायु परिवर्तनको मिलेर सामना गर्नुपर्ने भन्दै सीले चीन सगरमाथा र हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहने बताउनु भएको थियो । राष्ट्रपति सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता हुने र उक्त भेटवार्तामा सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ ।