काठमाडौं, २४ असोज । पुर्व राष्ट्रपति रामवरण यादवले संविधान संशोधन गरेर संविधानमा सबैको अपनत्व कायम गर्ने बाटोमा अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।
राजधानी काठमाडौंमा सुरु प्रथम अन्तराष्ट्रिय तमू सम्मेलनको शुक्रबार उद्घाटन गर्दै पुर्व राष्ट्रपति यादवले सरकार र नेतृत्वमा रहेका राजनीतिक दलहरुले संविधानमा भएको त्रुटी सच्याएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको हो ।
जनताको ठूलो बलिदानबाट प्राप्त संविधानलाई सर्वस्वीकार्य बनाउदै सबैले अपनत्व महसुस गर्ने गरि संविधानमा भएका त्रुटीहरुलाई सच्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
संविधान संशोधन गर्न तत्परता नदेखाउने हो भने प्राप्त उपलब्धिलाई सबैले महसुस गर्न नपाउने र कार्यान्वयनमा पनि जटिलता उत्पन्न हुन सक्ने भन्दै उहाँले त्यसतर्फ सरकार र राजनीतिक दलले विवेक पुर्याउनुपर्ने बताउनुभयो ।
समाजसेवी भद्र कुमारी घलेले समग्र आदिवासी जनजातीकोबारेमा नयाँ खोज अनुसन्धान आवश्यक रहेको भन्दै आफ्ना पुर्खाका बारेमा खोज अनुसन्धान गर्न युवा पुस्तालाई आग्रह गर्नुभयो । सम्मेलन शनिबार सम्म चल्ने छ ।