काठमाडौं, २३ असोज । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तालिकासँगै यतिबेला राजधानी काठमाडौंका सडक साँच्चिकै सफा देखिंदैछन् । पिचमाथि पिच र त्यस माथि लगाइएका सेता रंगले सडक सांच्चिकै सफा र सुन्दर देखिन्छ ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गौशाला जाने सडक र कोटेश्वर तिनकुने हुँदै बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टी होटल जाने सडक साँच्चिकै सफाचट बनाइएको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने तालिकाले एकाएक राजधानी काठमाडौं रातारात परिवर्तन भइरहेको छ । अघिल्ला दिनसम्म टुटेफुटेका धुलाम्य मुख्य सडकमा रातारात पिच गरिएको छ । कोटेश्वरको तिनकुनेमा सुन्दर बगैंचा बनाइएको छ ।
राजधानी अहिले चिटिक्क देखिनुमा विभिन्न स्थानमा राखिएका रंगिन स्वागतद्धारहरु पनि रहेका छन् । चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाल र चीनका राष्ट्रपतिका फोटो सहितका स्वागतद्धारले पनि राजधानीलाई थप चिटिक्क पारेको छ ।
त्यति मात्रै होइन, सडकका पोलपोल र चोकचोकमा दुवै देशकै राष्ट्रपतिका रंगिन फोटोहरु झुण्डाइएका छन् । यो क्रम अझै जारी रहेको छ ।
सडक किनारमा अझै कतै फुल रोपिएका छन् भने कतै रोपिंदैछन् । सडक सफा गर्न कामदार पनि खटिरहेकै छन् । त्यति मात्र होइन, सडकमाथि दिनदिनै ब्रुमर लगाई सफा गर्ने काम भइरहेको छ ।
दशैंको रौनक अझै नसकिएकाले राजधानीका सडकमा अहिले सवारी साधन निकै पातलो चलेको देखिन्छ । जसले सडक र सडक किनारामा काम गर्न सजिलो पनि भइरहेको छ ।
पोलपोलमा राष्ट्रपतिको फोटो झुण्डाइएको त छ नै । चोकचोकका रंगिन पोलहरुमा फहराइएका नेपाल र चीनका रंगिन राष्ट्रिय झण्डाहरुले काठमाडौंलाई थप उज्यालो बनाइरहेको छ । अहिले बनाइएको जस्तै सडक राजधानीमा सधैं भइदिइए कस्तो हुन्थ्यो होला ? आम नागरिकको मनमा अहिले यही कुरा खेलिरहेको छ ।
यतिमात्र होइन अहिले राजधानीको सुरक्षा व्यवस्था पनि अत्यान्तै कडा पारिएको छ । सडकमा नेपाली सेनाले गस्ती गर्न थालेको छ । सि हिड्ने पुलमा सुरक्षाकर्मीले पहरा दिएका छन् । प्रत्येक पुलमा नेपाल प्रहरी खटिएका छन् ।