काठमाडौं, १५ असोज । नेपाली सेना पहिलो पटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ । नेपाली सेनाले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरेर चीनको यूहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलो पटक सहभागी हुने लागिएको औंपचारिक जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदको आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको यूहान प्रान्तमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपाली सेनाले पनि पहिलो पटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिनु भयो ।
यो खेलकुद प्रतियोगितामा २५ वटा प्रतिस्पर्धात्मक खेल र दुई वटा प्रर्दशन खेल गरी २७ वटा खेलहरु प्रर्दशन हुनेछन् । जसमा १ सय ५ राष्ट्रका १० हजार ७ सय १९ जना खेलाडीहरु सहभागी हुने छन् ।
प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच बलिवल, मोर्डन पन्टाथलन, ट्रयाक एण्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ ।
प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ ।