श्याम गुप्ता
बारा, १३ असोज । बडा दशैँको प्रारम्भसंगै तराईका जिल्लाहरुमा परम्परागत झिझिया नाचको रौनक छाउन थालेको छ । तराईका जिल्लामा वडो धुमधामका साथ मनाइने झिझिया नाँचले यति खेर मध्ये तराईको वातावरण नैं उल्लासमय भएको छ । स्थानीय परम्परा अनुसार हरेक वर्ष दशैंको बेला झिझिया पर्व मनाउने गरिन्छ ।
विभिन्न सांस्कृतिक पर्वले धनी तराईका जिल्लाहरुमा बडा दशैँ शुरु भएसंगै झिझियाको नाँचगानले रौनक ल्याएको छ । मध्ये तराईको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, जनकपुर, राजबिराज लगायतका बिभिन्न जिल्लाहरुका हिन्दु धर्मावलम्वीहरुले झिझिया पर्व मनाउँदछन् ।
झिझिया पर्व तराईको मौलिक पर्वको रुपमा लिईन्छ । विशेष रुपमा यस पर्वमा ग्रामिण भेगका किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले समूह बनाई सामूहिक रुपमा झिझिया गीत गाउने तथा नृत्य गर्ने गर्दछन् ।
दशैंमा नराम्रा शक्तिहरुको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउने मान्यता रहे अनुसार झिझिया पर्व मनाउने गरेको पाईएको हो । शिरमा रहेको घैलामा हजारौं प्वाल पारेर ढकनीमा गुइंँठा सल्काएर तथा दियो बालेर नाच्ने गर्दछन् ।
गीत संङ्गित तथा तन्त्रमन्त्रको समिश्रण भनिने यो पर्व मध्य तराईको जिल्लाहरुमा धुम–धामका साथ मनाउने गरिएको छ । विजया दशमीको घटस्थापनादेखि नैं सुरु हुने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुने गर्दछ ।
झिझिया खेल्दा जम्मा भएको दक्षिणा, अन्नपात आदिले मिठाई तथा फल–फूल खरिद गरी सो समूहमा भएकाहरुले एक आपसमा बाँडेर खाई रमाईलो गर्ने प्रचलन प्राचिन कालदेखि नैं चल्दै आईरहेको छ । यसकारण पनि बालबालिकाहरु यस पर्वमा रमाउने गरेका छन् ।
झिझिया पर्वको सांस्कृतिक महत्व मात्र होइन ऐतिहासिक महत्व पनि रहेको छ । त्यसैले सरकारी निर्णय अनुसार २०५६ सालमा हुलाक विभागले झिझिया नृत्यको सांस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको थियो । झिझियाको संरक्षणका लागि युवा जमातलाई यसमा सहभागी गराउनु पर्ने अग्रजहरुको सुझाव छ ।