काठमाडौं, १३ असोज । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम सम्पन्न गर्न सरकारले आइतवार चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको छ । निर्माण थालेको १२ महीना (१ वर्ष)मा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको सम्झौतामा निर्धारित अवधिभन्दा छिटो सके बोनस र ढिलो सके जरीवाना तिराउने व्यवस्था गरिएको छ ।
८५ करोड रुपैयाँमा प्याकेज २ अन्तर्गतको सुरुङ खण्डको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।
अघिल्लो ठेकेदार इटालीको सीएमसीसँग भन्दा तीन गुणा बढी बोनस तथा जरीवाना तोकी आयोजनाको काम अघि बढाउन लागिएको हो । ‘यसअघिको कम्पनीलाई भन्दा तीन गुणा बढी बोनस तथा जरीवानाको व्यवस्था यो कम्पनीसँग गरिएको छ,’ पन्तले भने, ‘निर्धारित समयअघि नै काम सके कम्पनीले दिनको शून्य दशमलव १५ प्रतिशत बोनस पाउनेछ भने ढिलो गरे सोही प्रतिशत रकम नै तिर्नुपर्ने व्यवस्था रहेको छ ।’
कम्पनीले अम्बाथान, ग्याल्थुम, सिन्धु लगायत स्थानमा डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, क्याम्पहरूको मर्मत, सुरुङको अन्तिम चरणको संरचना निर्माण, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार लगायतका काम गर्नु पर्नेछ । सम्झौताअघि नै आयोजनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरेको कम्पनीले अबको २ हप्ताभित्रै काम थाल्ने आयोजनाले बताएको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।




