काठमाडौं, ९ असोज । दशैँ तिहार छठ लगायतका चाडपर्व नजिकिदै गर्दा यतिबेला बजारमा खाद्यान्न लगायत तरकारी तथा फलफुलको मुल्य निकै आकासिएको छ । यसरी चाडपर्वका समयमा बजार मुल्य आकासिदा आमउपभोक्ता उच्च मुल्यमा किनेर खान बाध्य छन । बजारमा ब्यापारीहरुले मनोमानी ढंगले मुल्य बढाउदा सरकारी निकाय भने मौन देखिन्छ ।
बजारमा अरु समय पनि खाद्यान लगायत तरकारीमा मुल्य बढ्ने गर्दछ । विशेष गरी चाडपर्वमा त झन लता कपडा लगायत दैनिक उपभोग्य बस्तुको मुल्य उच्च हुने गर्दछ । चाडपर्व नजिकिए संगै तरकारी तथा फलफुलको मुल्य आकासिनु त स्वभाविक नै भइसकेको छ ।
काठमाडौ उपत्यकाको तरकारी बजार कालीमाटी तरकारी बजारको भदौ १५ गतेको मुल्यको तुलनामा अहिलेको मुल्य दोब्बर जस्तै भएको छ । एक महिना अगाडी प्याजको थोक मुल्य एककिलोको ५९ रुपैयामा थियो, अहिले ९८ पुगेको छ । त्यसै गरी बोडी ३८ बाट ९८, सिमि ५५ बाट ९८, रातो आलु ४२ बाट ६१, करेला ६५ बाट ९८ रुपैंया पुगेको छ ।
त्यसैगरी केजी को ६५ मा विक्रि भएको रायो साग अहिले १ सय ४५ पुगेको छ । पालुंगोको साग ६५ बाट १सय ४५, हरियो प्याज ६५ बाट १ सय ४५ र हरियो खुर्सानी ४३ बाट ९८ रुपैंया पुगेको छ ।
यसरी तरकारीमा मुल्य जथाभावी बढ्दा पनि उपभोक्ता किन्न बाध्य हुन्छन । तर, प्रभावकारी अनुगमनको अभावमा बजारमा तरकारी तथा फफुलको मुल्यमा उच्च वृद्धि भई विक्रि वितरण भइरहेको छ । सरकारी तवरबाट गरीने अनुगमन औपचारिकतामा मात्र सिमित भएको छ । बजार अनुगमन प्रभावबारी हुननसक्दा विकृति बढेको उपभोक्ताहरुको गुनासो छ ।
यता व्यापारीहरु भने वर्षातका कारणले तरकारी कम उब्जनी भएकाले मुल्य उच्च बढेको तर्क अघि सार्ने गर्छन् ।