काठमाडौं, ९ असोज । झापा गोलधापकी एक युवतीले दुई वर्षअघि पतिसँग सम्बन्धविच्छेद गरिन् । घरेलु हिंसामा परेकी उनी सम्बन्धविच्छेदपछि एक्लै जिन्दगी बिताउने योजनामा थिइन् । तर एक सवारी चालकसँगको उनको सम्बन्ध छोटो समयमै बिहेमा बदलियो ।
पछि थाहा पाइन्, मन पराएर बिहे गरेको मान्छेको पहिल्यै घरजम भइसकेको रहेछ। उनीसहित पतिलाई जेठी पत्नीले बहुविवाह मुद्दा दायर गरिन्। अहिले उनले पतिसँगै मुद्दा खेपिरहेकी छिन्।
यो प्रतिनिधि घटना हो। मुलुकी फौजदारी कार्यविधि अपराध (संहिता) २०७४ लागू भएपछि जिल्ला अदालत झापामा यस किसिमका बहुविवाहका मुद्दा बढिरहेका छन्। गतवर्ष भदौ १ बाट नयाँ कानुन लागू भएयता सम्बन्धविच्छेद गरेर बिहे गरेका महिलामाथि बहुविवाहको मुद्दा बढेको जिल्ला अदालतका स्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए।
अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने र विवाहित पुरुष हो भन्ने जानीजानी पनि त्यस्तो पुरुषसँग बिहे गर्न नहुने व्यवस्था छ। ‘यसरी बिहे गर्ने पुरुष या महिलालाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजारसम्म जरिवाना हुने र त्यस्तो बिहे स्वतः बदर हुने व्यवस्था छ,’ खनालले भने।
विवाहित पुरुषले ‘अविवाहित हुँ’ भनी झुक्याई कुनै महिलासँग बिहे गरी ल्याउने पुरुषसँग महिलाले क्षतिपूर्तिसमेत माग गर्न सक्ने व्यवस्था नयाँ कानुनले गरेको छ। जिल्ला अदालतमा दायर भएका मुद्दाको प्रकृति हेर्दा कतिपयलाई झुक्याएर बिहे गरेको देखिन्छ भने कतिपय पहिलो श्रीमती भएको थाहा हुँदाहुँदै राजीखुसी आएको पनि देखिएको छ।
गतवर्ष बहुविवाहका ५० मुद्दा दर्ता भएको अदालतको तथ्यांक छ, जसमा २४ फैसला भए। २६ विचाराधीन छन्। त्यसै वर्ष सम्बन्धविच्छेदका १ हजार १ सय ६५ मुद्दा दर्ता थिए। ७ सय ९९ फैसला भए।
३ सय ६६ मुद्दा विचाराधीन छन्। अघिल्लो वर्ष २०७४/७५ मा बहुविवाहका ३८ मुद्दा दर्ता थिए। २३ फैसला भएका थिए। सम्बन्धविच्छेदका ९ सय १० मुद्दा दर्ता भएकोमा ६ सय ८२ मुद्दा फैसला भएका थिए।