बीओके कमसल धितो प्रकरण : पूर्व सीईओसहित ११ पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

बीओके कमसल धितो प्रकरण : पूर्व सीईओसहित ११ पक्राउ

bank

काठमाडौं, ६ असोज । नक्कली धितोमा ऋण प्रवाह गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको छ । चार वर्षअघि बैंक अफ काठमाण्डूबाट कमसल जग्गा धितो राखी रू. ५ करोड ऋण लिएका ऋणी सुरेन्द्र श्रेष्ठ यस प्रकरणका मुख्य अभियुक्त रहेको सीआईबीको भनाइ छ । सीआईबीले श्रेष्ठलाई डेढ महीनाअघि नै पक्राउ गरी अनुसन्धान शुरू गरेको थियो ।

सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार पक्राउ पर्नेमा ऋणी श्रेष्ठसँगै बैंकका कर्मचारी सुषमा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी लगायत छन् । यद्यपि, सो ऋणका धितो मूल्यांकनकर्ता भेषराज खत्री भने अझै फरार रहेको र उनको खोजी भइरहेको सीआईबीले बताएको छ ।

‘खराब ऋणी र धितो मूल्यांकनकर्ता (भ्यालूएटर) ले गरेको बदमासीका कारण पूर्वसीईओ श्रेष्ठबारे समेत अनुसन्धान गर्न जरुरी भयो । त्यसैले उनलाई शुक्रवार पक्राउ गरी अनुसन्धानको घेरामा राखेका हौं,’ सीआईबीका प्रवक्ता एसपी पाण्डेले भने, ‘सबै अभियुक्तलाई पक्राउ गरेपछि बैंकिङ कसुर मुद्दा दायर गर्ने र्छौं । यसअघि माग दाबी राखेर अदालतमा जानेछौं ।’ ऋणी र धितो मूल्यांकन गर्ने धितो मूल्यांकनकर्ता (भ्यालुएटर) को बदमासीका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ यस प्रकरणमा मुछिन पुगेको बीओके स्रोतले बताएको छ । यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।