काठमाडौं, ५ असोज । भेरी नदीको तीरैतीर, निकै साँघुरो कच्ची सडक। ठाउँठाउँमा पहिरो झरिरहन्छ। पक्की पुल छैन। नदी आउनेबित्तिकै एउटा गाडीबाट ओर्लेर झोलुंगे पुल तर्नुपर्छ। पारि पुगेपछि अर्कै गाडीमा झुन्डिनुको विकल्पै छैन।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट डोल्पाको दुनै पुग्न वर्षायाममा तीन र हिउँदमा दुई दिन लाग्छ। दुई सय २५ किलोमिटरको यो सडकमा सुर्खेत, डोल्पा, पश्चिम रुकुम र जाजरकोटका सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
भेरी तीरैतीर चल्ने भएकाले यो सडक भेरी करिडोरको नामले परिचित छ। सुर्खेतको छिन्चुबाट डोल्पासम्म पुग्दा १० वटासम्म गाडी फेर्नुपर्छ। जाजरकोट खण्डमा रहेको सडकबाट रुकुम खण्डमा रहेको सडकमा जान झोलुंगे पुल तर्नुपर्छ। सामान आफंैले बोक्नुपर्छ। ढुवानी खर्च प्रशस्त लाग्छ। यसैले उपभोग्य वस्तुको मूल्य चर्को छ।
सडकको अधिकांश खण्ड जाजरकोटको नलगाड नगरपालिका र पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा पर्छ।
चट्टाने पहरा र भीरमा बनाइएकाले सडक निकै साँघुरो छ। सानो पहिरो आयो भने पनि बाटो पूरै बन्द हुन्छ। भीरबाट ढुंगा झरिरहने हुनाले सवारीसाधनमा चढेका यात्रु त्रसित हुन्छन्। सडकबाट सवारी थोरै मात्र दायाँबायाँ गयो भने पनि सीधै भेरीमा खस्छ। कतिपय ठाउँमा सिँढीजस्तै चट्टान छ। दुई साताअघि यस्तै सिँढी चढ्न नसकेर ‘ब्याक’ भएको ट्र्याक्टर दुर्घटना हुँदा रुकुम पश्चिम सडक खण्डमा दुई जनाको ज्यान गएको थियो।
सडकमा आठ सिटको बोलेरो गाडी र ट्र्याक्टर चल्छन्। बोलेरोमा २५ जनासम्म यात्रु चढाइन्छ। यसले गर्दा यात्रा झन् जोखिमपूर्ण हुन्छ। क्षमताभन्दा धेरै यात्रु राखिएकै कारण पटकपटक सवारी दुर्घटना भइसकेको छ।
सवारी चलाउने अधिकांशसँग अनुमतिपत्र छैन। डोल्पा जिल्ला प्रवेश गरेपछि ट्राफिक प्रहरीबाट सामान्य चेक भए पनि यात्रु क्षमता र अनुमतिपत्रबारे जाजरकोट र रुकुम क्षेत्रमा सुरक्षाकर्मीले चासो लिएको देखिन्न। यात्रु धेरै राखे नराखेको विषयमा सुरक्षाकर्मीले निगरानी गरिरहेको छ भन्ने सूचना चालकलाई सम्बन्धित ठाउँमा नपुग्दै हुन्छ। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।