सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता दिएन : महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता दिएन : महतो

काठमाडौं, २ असोज । राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहीबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्षसम्म पनि संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाउनुभएको हो ।

उहाँले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था श्रृजना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिनुभयो ।

सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै उहाँले संविधानदिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिनुभयो । संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उहाँले गर्नुभयो ।

निर्मला प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो “बालुवाटार बिक्रि भईसक्यो । सिंहदरबार कहिले बिक्रि हुने हो त्यो पनि बताईदिनु पर्यो ।”

नागरिकताका सम्बन्धमा न्यायधीश पिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उहाँले भन्नुभयो “कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ति आउने जाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा ।”

उहाँले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गर्नुभयो । उहाँले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गर्नुभयो ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उहाँले संसद अधिवेशनलाई नै “कालो अध्याय”को रुपमा रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाईदियो ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);