काठमाडौं, २७ भदौ । संशोधन सहितको नागरिकता विधेयक सम्बन्धी सरकारले तयार पारेको अन्तिम प्रतिवेदन अध्ययनका लागि समय उपलब्ध गराउनुपर्ने भन्ने विषयमा सासदहरुबीच मत बाँझिदा शुक्रबार संसदीय समितिको बैठक केही समय प्रभावित बन्यो ।
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा अधिकांश सदस्यले समितिको छलफल र सुझावका आधारमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले तयार पारेको संशोधन विधेयक प्रतिवेदन अध्ययनका लागि समय पाउनुपर्ने धारणा राखेका थिए ।
तर सभापति शशि श्रेष्ठले वैबाहिक अंगिकृत नागरिकताको विषयमा संशोधन भएर आएको दफामा मात्रै छलफल गरि निर्णयमा पुग्न दबाब दिएपछि बैठकमा केहीबेर सांसद र सभापतिबीच भनाभनको स्थिति देखा पर्यो ।
अधिकांश सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषय भएकाले हतारमा निर्णयमा पुग्न नहुने भन्दै एक दिन अध्ययनका लागि समय दिन माग गरेका थिए । सांसदहरु बृजेष कुमार गुप्ता, दिलेन्द्र प्रसाद बडू, कृष्ण गोपाल श्रेष्ठ, पम्फा भुसाल लगायतले अन्तिम प्रतिवेदन अध्ययनका लागि एक दिन समय दिनुपर्ने माग गरेका थिए । तर सभापति श्रेष्ठले भने विधेयकमाथि लामो छलफल भईसकेकाले अब पारित गरेर अघि बढ्नुपर्ने जिकिर गर्नुभएको थियो ।
बैठकमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव सुवास भट्टराईले मातृत्व र पितृत्व ठेगान नलागेका सन्तानलाई प्रदान गरिने नागरिकताको व्यवस्था, लिंग परिर्वतन पछि नागरिकता उपलब्ध गराउने व्यवस्था तथा नेपाली नागरिकसंग विहे गरेर आउने विदेशी महिला र पुरुषलाई उपलब्ध गराईने अंगिकृत नागरिकताको सम्बन्धमा विधेयकमा गरिएको संशोधनहरु पढेर सुनाउनुभएको थियो । बैवाहिक अंगिकृत नागरिकताको सवालमा समितिमा लामोसमय देखि छलफल हुदै आएको छ ।