प्रमिला भण्डारी
काठमाडौं, २१ भदौ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र दुग्ध विकास संस्थानको निर्णय अनुसार भाद्र २१ गते शनिबारबाट लागु हुने गरी दुधको मुल्य प्रतिलिटर ६ रुपैयाँले बढेको छ ।
दुध उत्पादक किसानहरुले दुधको मुल्य बढाउन सरकारलाई दवाब दिँदै दुध सडकमा पोखेर आन्दोलन गर्न थालेपछि सरकारले दुधको मूल्य बढाएको हो । दुधको मूल्य बढाउँदा गाई भैंसीपालक कृषक त खुशी भए होलान तर मुल्य बृद्धि हुँदा आम सर्वसाधरण उपभोक्ता भने चाडपर्वको मुखमा मारमा परेका छन् ।
बढेको मुल्य देशैभर नै लागु भईसकेको छ । मुल्य बढेसंगै उपभोक्ताले अब प्रति लिटर दूधलाई ७६ रुपैयाँ तिर्नुपर्ने छ । यस अघि प्रति लिटर दुधलाई उपभोक्ताले ७० रुपैयाँ तिर्दै आएका थिए ।
त्यस्तै ३५ रुपैयाँ पर्ने आधा लिटरको प्याकेटको मुल्य अब ३८ रुपैयाँ कायम भएको छ । दुधको मुल्य बढेपछि किसानहरुलाई केहि राहत त मिल्छ नै तर आम उपभोक्ता भने मुल्यबृद्धिको मारमा पर्ने डेरी उद्योग सञ्चालकहरुको धारणा छ । अहिले तत्कालको लागी दुधको मुल्य बढे पनि अन्य दुग्धजन्य सामाग्रीको मुल्य भने नबढेको उद्योगीको भनाई छ ।
विगत तीन वर्षदेखि सरकारले दुधको मुल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै किसानले आन्दोलन गर्दै आएका थिए । त्यसैले किसानको मागलाई संबोधन गर्न सरकारले दुधको मुल्य बढाएको उद्योगीको भनाई छ ।
दुध दैनिक उपभोग्य बस्तु अन्तर्गत पर्ने भएकोले यसको मुल्य बढे पनि उपभोक्ता महङ्गो मुल्य तिरेर खान बाध्य भएका छन् । त्यसैले मुल्य बढे पनि विक्रीमा भने कमि नआउने व्यवसायी बताउँछन् ।