काठमाडौं, १४ भदौ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सञ्जालमा आउने गलत सूचनाले पत्रकारिता क्षेत्रमा नै नयाँ चुनौति थपेको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आयोजित २० औ बार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दे गभर्नर नेपालले सामाजिक सञ्जालको व्यापकता र फेसबुकमा आउने गलत सुचनाले भ्रम श्रृजना गर्ने काम भईरहेको बताउनुभएको हो ।
सामाजिक सञ्जालमा आएका सूचनालाई नै समाचार मान्ने प्रवृत्ति बढ्दै जादा संचार क्षेत्रको सही भुमिका नै छाँयामा पर्ने भन्दै उहाँले त्यसतर्फ सबै संचारकर्मी र संचारगृहले सावधानी अपनाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले समाचार लेखेकै आधारमा ज्यान जोखिममा पर्ने गरेको पनि देखिएकाले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सेजनका पुर्व अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारिता बलियो भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अधिवेशनले आगामी २ बर्षका लागि सेजनको नयाँ नेतृत्व चयन गर्ने छ ।