काठमाडौं, २४ भदौ । ब्राण्डेड सामानको हबको रुपमा चिनिएको दरबारमार्ग क्षेत्रका व्यवसायीले नाफामा अंकुश लगाउने कानुन खारेजीको माग गरेका छन् ।
सरकारले अत्याधिक मुनाफा लिएको भन्दै ब्राण्डेड बजारको रुपमा परिचित दरबारमार्गका केही पसलमा सिलबन्दी गरेपछि व्यवसायीले मनोमानीमा नाफा आर्जन गर्न पाउनुपर्ने अडान अघि सारेका हुन् ।
खुल्ला बजार अर्थतन्त्रको कुरा गर्ने सरकारले २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने पुरानै ऐन अनुसार अघि बढेको भन्दै उनीहरुले मुनाफा तोक्ने कानुन खारेजीको माग गरेका छन् ।
केही सरकारी कर्मचारीको गलत नियतका कारण समय समयमा अनुगमनका नाममा आफुहरुलाई आतंकित र बद्नाम गराउने काम भएको व्यापारीले आरोप लगाए । भन्सारमा न्युन बिजकीकरणको समस्याका कारण पनि समस्या भएको भन्दै व्यवसायीले सो समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिए ।
आपूर्ति मन्त्रालयले यही भदौ १९ र २१ गते अनुगमनका क्रममा बढी नाफा लिएको भन्दै दरबारमार्गका ९ वटा पसल सिलबन्दी गरेको थियो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले अनुगमन गरिएका २४ पसल मध्ये ९ वटामा सिलबन्दी र १५ वटालाई खरिद–बिक्री बिलसहित उपस्थित हुन निर्देशन दिएको थियो ।
यसपछि सो क्षेत्रका अन्य व्यापारीले पनि पसल बन्द गरि सरकारी अनुगमनको विरोध गरेका छन् । दशैको पुर्वसन्ध्यामा पसल बन्द भएपछि दैनिक एक करोड भन्दा बढीको नोक्सानी भएको दरबारमार्ग विकासबोर्डले दाबी गर्दै आएको छ । दरबारमार्गमा ब्रान्डेड सामानका सोरुमहरू सहित १ सय ५० बढी पसल छन् ।
विभागले बेन्ट्ली ब्रान्डको सामान बिक्री गर्ने द लेदर प्रालिको बिक्री बिल जफत गर्नुको साथै रिबुक, बोसनी, लेभिज, स्टोर वान, पुमा र नाइक ब्रान्डका सामान बिक्री गर्ने पसल सिलबन्दी गरेको हो । त्यस्तै सुलक्स स्टो र वाच एन्ड सी दुई घडी पसल पनि बढी नाफा लिएको पाएपछि सिलबन्दी गरिएको छ ।