काठमाडौँ, २४ भदौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्री भनिन्छ । उनी एकपटक विश्वका सबैभन्दा शक्तिशाली १०० जनाको सूचीमा पनि परेका थिए । शक्तिको केन्द्रमा रहेका प्रधानमन्त्री मोदीको सम्पत्ति कति छ ? यो सबैको चासोको विषय बनेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार अहिले मोदीसँग २ करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति छ । गत आर्थिक वर्ष सन् २०१५–१६ को तुलनामा आर्थिक वर्ष २०१६–१७ मा मोदीको सम्पत्ति १५ प्रतिशतले बढेको हो।
पछिल्ला आर्थिक वर्ष २०१४–१५ र २०१६–१७ मा उनको सम्पत्ति क्रमश १.४१ करोड १.७३ करोड भारु थियो । मोदीसँग १ लाख ४९ हजार भारु नगद छ । मोदीसँग ४५ ग्राम तौलका सुनका रिङ छन् । जसको बजारमूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ पर्छ ।
यस्तै स्टेट बैंक अफ इन्डियामा रहेको उनको खातामा १ लाख ३३ हजार भारु बचत छ । सोही बैंकमा मोदीले ९० लाख २६ हजार रुपैयाँ फिक्स्ड डिपोजिट गरेका छन् । प्रधानमन्त्री मोदीले गत आर्थिक वर्षमा ५ लाख ७५ हजार रुपैयाँ भुक्तानी लिएका छन् ।