काठमाडौं, २८ साउन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले जनतालाई गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने विषयमा सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिनिधिसभा नियमावलि २०७५ को परिच्छेद ८ बमोजिमको प्रश्न उत्तर कार्यक्रम अन्तर्गत सांसदहरुले राखेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले कालोबजारी रोक्ने र गुणस्तरीय खाद्यान्न सर्वसुलभ उपलब्ध गराउने जिम्मेवारीमा सरकार कटिबद्ध रहेको बताउनुभएको हो ।
उहाँले सबै प्रदेशका मन्त्री, महानगर, उपमहानगरपालिका लगायतका पदाधिकारीहरुसंग वृहत छलफल गरी योजना बनाउने काम भएको भन्दै उहाँले अनुगमन र कारवाही गरेको पनि सुन्न र देख्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “योजना बनाएको मात्रै सुन्नुभयो । थुप्रै अनुगमन गरेको छु । थुप्रै कारवाही गरेको छु । त्यो चाही सुन्नुभएन मलाई आश्चर्य लाग्छ । एकातिर मात्रै सुन्ने कि दुईटै कानले सुन्ने हो । योजना मात्रै सुन्नुभयो । अनुगमन गरेको कारवाही गरेको सुन्दिनुभएन भने त मन्त्री प्रति अन्याय हुन्छ । अन्याय नगर्दिनु होला भन्ने मेरो आग्रह छ ।”
उहाँले नेपालमा आयात हुने तरकारी तथा फलफुलमा ८० प्रतिशत सम्म विषादी पाईएको भन्ने कुरामा सत्यता नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो “असार मसान्त सम्म ३ हजार ७ सय ४४ वटा नमुना परीक्षण गरिएकोमा ३ हजार ७ सय २९ वटामा ३५ प्रतिशत भन्दा कम देखिएको, १३ वटा नमुनामा ३५ भन्दा बढी देखिएको र २ वटा मा ४५ भन्दा बढी प्रतिशत विषादी प्रयोग भएको पाईएको छ । ”
उहाँले विषादी जाँच गर्न रोकिएको भन्ने कुरा पनि सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले सबै स्थानमा उच्चस्तरीय परीक्षण प्रयोगशाला नभएको राजधानी ल्याएर परीक्षण गर्ने गरिएको बताउनुभयो ।
उहाँले नेपाल भारतबीच मध्य पहाडी लोकमार्गको उद्गम स्थल चिवाभञ्याङ्गमा व्यापारिक नाका स्थापना गर्ने योजना नभएको र थप नाका स्थापना गर्नुपर्ने देखिएमा दुईपक्षीय वार्ता गरेर मात्रै स्थापना गरिने स्पष्ट पार्नुभयो ।
सांसदहरु उमा रेग्मी, बसन्त कुमार नेम्वाङ्ग, डिला संग्रौला पन्त, रंगमती शाही, प्रेम सुवाल, घनश्याम खतिवडा, लक्ष्मी परियार, दिव्यमणि राजभण्डारी लगायतले मन्त्रीलाई प्रश्न गरेका थिए ।
प्रश्न सोध्नका लागि नाम टिपाउने सांसद महेन्द्र राय यादव नै संसद बैठकमा अनुपस्थित भएपछि मंगलबारका लागि निर्धारित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसंगको प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेन । प्रश्न सोध्ने सांसद नभएपछि मन्त्री पण्डित रोष्टम पुगेर फर्कनुभएको थियो ।