काठमाडौं, २३ साउन । सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई आग्रह गरेका छन् । बिहिवार संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले आस्थानको आधारमा सरुवा नगर्न आग्रह गरेका हुन् ।
सांसदहरुले ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै हटाउन माग गरेका हुन् ।
सहमतिको आधारमा स्थानीय तहको कर्मचारीलाई प्रदेश भित्रको अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख गरिएको छ । बैठकमा नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सहमति शब्दले काँग्रेस, कम्युनिष्ट र मधेशी दल भनेर राजनीतिक आस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गर्नु भयो ।
त्यसैगरी सत्तारुढ नेकपाका सांसद जनार्दन शर्माले पनि सहमतिको नाममा कर्मचारीहरुलाई सरुवाका लागि बाध्य पार्ने ढंगले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने उल्लेख गर्नुभयो । समितिका सदस्यहरुले कर्मचारीहरुको सरुवा आवश्यक्ताको आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।