काठमाडौं, २१ साउन । संविधानमा उल्लेख गरिएको समानुपातिक समावेशी सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन खुलाएको दावीसहित आन्दोलनरत ‘आरक्षण बचाऔं आन्दोलन’ले मंगलबार पनि काठमाडौंमा मौन जुलुशसहित विरोध प्रदर्शन गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा संविधानको मूल मर्म विपरित खुलाइएको सो विज्ञापनको विरोधमा हातमा कालोपट्टी बाँधेर काठमाडौंको भृकृटीमण्डवबाट रत्नपार्कस्थित शान्तिवाटिकासम्म मौन जुलुश निकालिएको हो ।
लोक सेवा आयोगले संविधानको बर्खिलाप हुने गरी सो विज्ञापन खुलाएकाले विरोधमा आज पनि कालोपट्टी बाँधेर मौन जुलुश निकाल्नु परेको आरक्षण बचाऔं आन्दोलनका संयोजक नविन रोकामगरले जानकारी दिनु भयो ।
आदिवासी, जनजाति, महिला, दलितलगायतका समुदायले लोक सेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तीका लागि विज्ञापन खुलाउँदा समानुपातिक समावेशी सिद्धान्त विपरित खुलाएको दावी गर्दै खारेज गर्न माग गर्दै आन्दोलनलाई निरन्तरता दिईरहेका छन् ।