काठमाडौं, १९ साउन । प्रतिपक्ष नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार (भोली) बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिनु भएको हो ।
आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानवीनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान राख्नु भयो ।
उहाँले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको पनि बताउनु भयो ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पार्नु भयो ।
त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उहाँको भनाई थियो ।
यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले भने राष्ट्रिय मानव अधिकार आयोगले छानवीन गरिरहेकाले सो घटनामा संसदीय छानवीन समिति गठन गर्न नपर्ने तर्क गर्नु भयो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगजस्तो संवैधानिक निकायले छानवीन गरिरहेको घटनामा पछि चित्त नबुझे संसदीय समितिले छानवीन गर्न सक्ने पनि स्पष्ट पार्नु भयो । तर तत्कालका लागि सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्न संवैधानिक र कानुनी रुपमा नमिल्ने प्रमुख सचेतक गुरुङको दावी छ ।
प्रमुख सचेतक गुरुङले लोकतन्त्रमा संवैधानिक विधि र प्रक्रिया अनुसार चल्नुपर्ने भएकाले पनि सरकारले राष्ट्रिय मानव अधिकार आयोगले छानवीन सुरु गरेको सो घटनाको छानवीनका लागि संसदीय छानवीन समिति गठन गर्नुपर्ने अवस्था नदेखेको पनि बताउनु भयो ।