काठमाडौं, १६ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त रहेका स्थानहरुमा आगामी मंसिर महिनामा निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको छ ।
बिहीवार राजनीतिक दलहरुसँगको परामर्शपछि आयोगले सरकारलाई आफ्नो परामर्श सहित मंसिर १४ गते निर्वाचन गराउन उपयुक्त हुने सिफारिस गरेको हो । तीनवटै तहका रिक्त कुल ५० स्थानमा एकै दिन निर्वाचन गराउन आयोगको सुझाव छ।
प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख– १, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष–१ र वडाध्यक्ष–४१ पदहरु रिक्त छन्। तीनवतै तहको निर्वाचन २०७४ सालमा भएको थियो।
स्थानीय तहको निर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तथा प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको मिति सरकारसँगको परामर्शमा आयोगले तोक्ने कानुनी प्रावधान छ ।