काठमाडौं, १६ साउन । सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी बन्दै गएको आरोप लगाएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बचाउ गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले बैंक तथा वित्तीय संस्थाहरूले सर्वसाधारणसँग चर्को ब्याज लिएर नाफाखोरी बन्दै गएको आरोप लगाएका हुन् । तर, राष्ट्र बैंकका गभर्नर डा. नेपालले भने बैंक तथा वित्तीय संस्थाहरूले आर्जन गरेको नाफालाई लिएर गलत टिपणी गर्न नहुने बताए । समितिले मंगलबार राष्ट्र बैंकका गभर्नर नेपाल र अर्थ मन्त्रालय सचिव डा. राजन खनाललाई बोलाएर छलफल गरेको थियो । बैठकमा बोल्दै अधिकांश सांसदहरूले विभिन्न वहानामा बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज जथाभावी बढाएर ज्यादती गर्ने गरेको भन्दै नियमन गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए ।
जवाफमा गभर्नर डा. नेपालले बैंक तथा वित्तीय संस्थालाई नाफाखोरी भन्नु गलत भएको भन्दै खराब कर्जा वितरण गर्ने संस्थालाई राष्ट्र बैंकले नियमन गरीरहेको भन्दै नाफाखोरी भन्न नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूले नाफा कमाउन नसके मुलुकको अर्थतन्त्र नै असफल हुनेसमेत बताए ।
बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई न्यून ब्याज दिने तर ऋणीलाई भने कसेर ब्याज लिने गरेका भन्दै आलोचना हुने गरेको पनि सांसदहरूले बताए । तर सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै गभर्नर डा. नेपालले पहिले तोकिएको ब्याजदरमा ऋण लिएका ऋणीको अनुमति नलिई ब्याजदर बढाउन नपाइने नियम भएकाले बढाएको पाइएमा कारबाही हुने बताए ।
अर्थ मन्त्रालयका सचिव डा. राजन खनालले पनि ऋण लिइसकेपछि ब्याजदर बढाउन नपाइनेमा जोड दिए । यसका साथै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्ति गर्दा योग्य र उपयुक्त (फिट एन्ड प्रोपर) रहे नरहेको परीक्षण गर्ने पनि जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।




