कपिलवस्तु, १२ साउन । कपिलवस्तु सुठौली भन्सारमा आर्थिक बर्ष २०७५/०७६ मा ४४ करोड ७८ लाख ३० रुपैँया राजस्व संकलन भएको छ । गत आर्थिक बर्षका लागि लक्ष्य ४५ करोडको तोकिएको थियो ।
गत आर्थिक बर्षको असोजदेखि सुठौली भन्सारको स्त्तारोन्नती गरीएको थियो । त्यसअघि छोटी भन्सारका रुपमा रहेको सुठौलीमा १५ करोड लक्ष्य तोकिएको थियो ।
भन्सार प्रमुख तिर्थराज पासवानका अनुसार १० महिनामा भन्सारले लक्ष्यको करिब नजिक राजस्व संकलन भएको हो । सबै भन्दा बढी कृषि सुधार शुल्कमा ३२ करोड ७४ लाख २० हजार रुपैँया उठेको छ । यस्तै पैठारी महसुलमा तीन करोड, पैठारी सेवा दस्तुरमा २६ लाख ५५ हजार राजस्व संकलन भएको छ ।
अग्रिम आय करमा तीन करोड २४ लाख दुई हजार, अन्तःशुल्कमा १८ लाख ४९ हजार, मुल्य अभिबृद्धि करमा चार करोड ५४ लाख संकलन भएको छ । सबैभन्दा बढी असोज महिनामा ६ करोड २१ लाख १८ हजार उठेको थियो । यस्तै मंसिरमा ५ करोड ९५ लाख, माघमा ४ करोड ७४ लाख राजस्व संकलन भएको छ ।
सरकारले सुठौली भन्सारको स्त्तारोन्नती गरे पनि क्वारेन्टाईको कार्यालय नखोल्दा राजस्व संकलनमा समस्या आएको प्रमुख पासवानले बताउनु भयो ।