काठमाडौं, १ साउन । पाँच महिनामा विश्वका ६ स्थानबाट २ सय ३९ नेपालीको उद्धार भयो । तिनैमध्येकी एक हुन्, रसुवाकी सुनिता तामाङ (१९) । उनको सपना दुनियाँका लागि खासै ठूलो थिए । सामान्य परिवारमा जन्मे हुर्केकी उनी भाइबहिनीलाई पढाएर ठूलो मान्छे बनाउन चाहान्थिन् । त्यही झिनो सपनाले सुनितालाई कुवेतसम्म पुर्यायो ।
गाउँकै चिनेजानेका एकजना दाइले उनको सपना साकार गर्न विदेश जानैपर्ने सुझाव दिएपछि सुनिता तयार भइन् । तिनै दाइले उनलाई रसुवाबाट काठमाडौँ हुँदै कुवेतसम्म पुग्न सहयोग गरे ।
सुरुमा सुनितालाई ती दाइ भगवान्जस्तै लाग्यो । तर, उनको त्यो सोच लामो समय टिकेन । कुवेत पुगेपछि मात्र सुनिताले आफू बेचिएको थाहा पाइन् ।
रसुवाकी सुनिता त उदाहरण मात्रै हुन् । उनीजस्ता कयौँ पीडितले नेपाल फर्किएपछि कसैमाथि जाहेरी नदिएको घटना प्रहरीसामु तमाम छन् । यस्ता घटनामा जाहेरी नदिएकै कारण एजेन्टमाथि नाइकेसम्मलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।