काठमाडौं, ३१ असार । सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा बुधवार सम्ममा सूचारु गराउने प्रतिवद्धता जनाएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा बुधवारसम्म सबै ठाउँमा सूचारु गराउने गरी कामलाई अघि बढाइएको जानकारी दिनु भएको हो ।
उहाँले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिनु भयो । मन्त्री पुनले बाढी र डुबान हुन नदिन सरकारले नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको पनि बताउनुभयो ।
आपत्कालिन कार्यका लागि नदी नियन्त्रणका क्षेत्रका काम गर्ने १५ वटा आयोजनाहरुलाई तयारी अवस्था राखिएको मन्त्री पुनको भनाई छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिंचाई आयोजनाको हालसम्म ८ किलो मिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको पनि जनाएको छ ।