काठमाडौं, २४ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अनुसन्धान टिमलाई अझै बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारीहरु कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।
कास्कीको पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।
अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको चर्चा गर्दै उहाँले अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिनुभयो । कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।