काठमाडौं, २२ असार । कर्णाली प्रदेशमा झन्डै ७ अर्ब बराबर लागतको कृषि क्षेत्र विकास कार्यक्रम सुरु भएको छ ।
कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड)को सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषकको प्रत्यक्ष जीवस्तरमा सुधार ल्याउन, कृषि उत्पादन बढाउन तथा आयात घटाउने लक्ष्यसाथ कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन हुन लागेको हो । आइफाड को सहयोगमा सात प्रदेशमध्ये कर्णाली प्रदेशका १० जिल्लामा मात्रै सञ्चालन गरिएको यो प्रदेशकै सबैभन्दा ठूलो कृषि परियोजनासमेत हो ।
कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मिश्रका अनुसार यसअघि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला र अछाम जिल्लामा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको नामबाट सञ्चालित थियो । यसै परियोजनाको सफलतामा टेकेर कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको उनले बताए । विगतमा हाइभ्यालु परियोजनाबाट कर्णालीको कृषि क्षेत्रमा उल्लेखनीय कामसमेत भएको थियो । जुम्लामा कर्णाली दिगो विकास प्रतिष्ठान (काष्डा)ले परियोजना सञ्चालन गरेको थियो । रैथाने बाली (स्याउ, सिमी, चिनो, कागुनो, कोदो, फापर, आलु भटमास, मकै, जौ, गहुँ ) लगायतका अन्नबालीको मूल्य श्रृखला निर्धारण तथा बजारी करण र उत्पादनमा जोड दिइनेछ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।